भारतीय हिरोइन नाच्दैमा सैनिक मञ्चको दुरुपयोग हुँदैन
सैनिक मञ्च सिंगै प्रयोग भएको होइन । सेनाकै श्रीमती संघले आयोजना गरेको कार्यक्रम भएकोले सैनिक मञ्चको एउटा भाग दिइएको हो । मैदानको दक्षिणी भाग मात्रै यसमा प्रयोग भएको छ । यतिलाई नकारात्मक रुपमा हर्नु पर्दैन । भूकम्प पीडितहरुको लागि सैनिक श्रीमती संघले बेला-बेलामा सहयोग गर्दै आएको छ । अहिले पनि त्यस्तै सहयोगका लागि केही आर्थिक रकम जुटाउन कार्यक्रम गरेको हो । राम्रो सोचको कार्यक्रम भएकाले पनि दिएका हौं ।तर सेनाले आफ्नो गौरवका रुपमा लिने गरेको सैनिकमञ्चभित्र यस्तो नाचगान गरिनु ठीक थियो र ?
यसमा हाम्रो नियत के थियो भन्ने कुरा प्रमुख हुन्छ । गलत नियतले कार्यक्रम गरेको होइन । सैनिक मञ्च सबै हिसाबले सेन्टरमा भएको र अन्य ठाउँभन्दा धेरै भिड पनि थेग्न सक्ने भएर प्रयोग गरेको हो । त्यसमा कुनै व्यापारिक प्रयोजन छैन । सेनासँगै जोडिएको एउटा संघले कार्यक्रम आयोजना गरेको भएर सैनिक मञ्च प्रयोग हुनु स्वाभाविक नै हो ।
आगामी दिनमा अर्को कुनै निजी संस्थाले च्यारिटी कार्यक्रमका लागि भनेर सैनिक मञ्च माग्यो भने दिनुहुन्छ त ?
त्यसरी त कहाँ दिन मिल्छ र ।
मैले अघि नै भनेँ नि, अहिलेको कार्यक्रम सेनाले कुनै व्यापारिक प्रयोजनको लागि दिएको होइन । सेनाकै एउटा सम्बन्धित संघले आयोजना गरेको भएर सैनिक मञ्चको एउटा भाग प्रयोग गर्न दिइएको हो । सेनाले आफ्नो कार्यविधिमा रहेर नै त्यसको प्रयोग गरेको छ । हिरोइन नाच्दैमा यसको दुरुपयोग भएको भन्न मिल्दैन ।
सेनाकै सम्वन्धित संघले गरेको कार्यक्रम भनेपछि यस कार्यक्रमको जिम्मेवारी पनि त लिनुहुन्छ होला । भारत र नेपालका पनि चर्चित हिरोइनहरु ल्याइएको छ । उनीहरुलाई पैसा पनि उत्तिकै तिर्नुपर्यो होला । भूकम्प पीडितको लागि कति पैसा जम्मा हुन्छ त ?
कलाकारलाई कति तिरेको छ, स्टेज बनाउन कति खर्च लाग्यो भन्ने कुराहरु सबै इभेन्ट म्यानेजमेन्ट गर्नेको जिम्माको कुरा हो । सैनिक श्रीमती संघले यसको आयोजना मात्रै गरेको र इभेन्ट गर्ने जिम्मा अरुलाई दिएको थियो । त्यसैले कसलाई कति पैसा तिरेको छ, टिकट कति बिक्री भो भन्ने लगायतका बारेमा इभेन्ट म्यानेजमेन्ट गर्नेलाई मात्रै जानकारी हुन्छ ।
सायद त्यसको हिसाब किताब पनि भैरहेको होला । यो कुनै व्यक्तिले गरेको कार्यक्रम होइन । संस्थाको कार्यक्रम हो । त्यसैले हिसाब-किताब पनि पारदर्शी हुन्छ ।
बाहिर त कार्यक्रमका लागि टिकट किन्न सेनामा सर्कुलरै जारी भएको थियो भन्ने हल्ला छ ?
त्यो गलत कुरा हो । हामीले इच्छुकलाई मात्रै टिकट किन्न लगाएका छौं । इच्छुक सैनिक तथा उहाँहरुका परिवार कन्सर्ट हेर्न आउनु भएको थियो । कुनै सर्कुलर जारी भएको थिएन ।
आलोचना यतिमा मात्रै सीमित छैन । हिरोइनलाई स्वागत गर्न जर्नेल नै किन पठाउनु भो ?
त्यसमा पनि गलत सन्देश गएको छ । जो जर्साब फोटोमा देखिनु भएको छ उहाँ हिरोइनलाई स्वागत गर्न जानु भएकै होइन ।
एयरपोर्ट घुम्न जानुभएको थियो त ?
होइन । सेनाले बोलाएको पाहुना आउन लागेको र आफ्नो कार्यक्षेत्र पनि विमानस्थल नै भएकाले मात्रै संयोग मिलेको हो ।
भित्रै गएर जर्नेलले स्वागत गरेको भन्ने होइन । आफनो कार्यक्षेत्रभित्र ड्युटीमै भएको समय परेकाले पोशाकमै देखिनु भएको हो । स्वागत गर्न त श्रीमती संघकै मान्छेहरु पनि जानु भएको थियो ।
शनिबारको कार्यक्रमलाई लिएर रक्षा मन्त्रालयले समेत चासो देखाएको छ । आगामी दिनमा सेनाले पुर्नविचार गर्छ कि गर्दैन ?
रक्षा मन्त्रालयले चासो दिनु वा स्पष्टिकरण सोध्नु उहाँहरुको कुरा हो । हामीले आफ्नो कार्यविधि मिचेर कुनै काम गरेका छैनौं । आगामी दिन के गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ होला । तर त्यो सबै आफ्नै कार्यविधि भित्र रहेर हुन्छ ।

0 comments
Write Down Your Responses