यस्तो छ संगम होटल हत्याकाण्डको थप खुलासा

sangam-hotel-454x458महेन्द्रनगर बजारमै रहेको ४ नम्बर गल्लीस्थित संगम होटलमा भएको हत्याकाण्डमा सबैको चासो बढेको छ । हत्याराको पत्ता लाग्न नसक्नु र हत्याकाण्ड रहश्यमै रहनुले घटनामा सबैको चासो बढेको हो । गएराति भएको घटनामा होटल मजदुर २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएर नेपालगञ्जमा उपचाररत पदमराज जोशीले निको भएपछि घटनाको रहश्य खुल्ने आशा गरिएको छ ।गएराति महेन्द्रनगरको संगम होटलमा के भएको थियो त ?

संगम होटलका सञ्चालक मोहनसिंह खत्रीले गएराति सञ्चो नभएका कारण आफू सवा १० बजे नै चौथो तलामा रहेको कोठामा सुत्न गएको बताउनुभयो । बजार क्षेत्रमा खटिने प्रहरी टोलीले समेत बजार क्षेत्रका होटललाई १० बजेभित्रै बन्द गर्न निर्देशन दिने गरेको छ । सोही अनुसार गएराति १० बजे संगम होटलको अगाडिको सटर बन्द गरिएको थियो । सवा १० बजे सटर बन्द भएपछि राति १२ बजेसम्मको बिचमा होटलभित्र घटना भएको सञ्चालक मोहनसिंह खत्रीले बताउनुभयो ।
 राति १२ बजेतिर होटलको २ सय ७ नम्बर कोठामा बसेका ग्राहकले फोन गरेपछि सञ्चालक मोहनसिंह खत्रीले घटना भएको थाहा पाउनुभयो । गएराति होटलको २ सय ७ नम्बर कोठामा २ जना र १ सय ४ नम्बर कोठामा ३ जना ग्राहक बसेका थिए । होटल सञ्चालक मोहनसिंह खत्रीका अनुसार राति घाइते अवस्थामा रहेका पदमराज जोशीले २ सय ७ नम्बर कोठाको ढोका पुगेर ढोका ढक्ढक्याउनुभयो, त्यसपछि ग्राहकले घाइते अवस्थामा मान्छे देखेपछि होटल सञ्चालकलाई खबर गर्नुभयो । त्यसपछि होटल सञ्चालक चौथो तलाबाट तल आउनुभयो र घटनाबारे थाहा पाउनुभयो । घटनाबारे थाहा पाएपछि होटल सञ्चालकले प्रहरीमा खबर गर्नुभयो । अहिले प्रहरीले घटनाबारे छानविन गरिरहेको छ ।

 होटलभित्र काम गर्ने २ जना मजदुरको हत्याकाण्ड सवा १० बजेदेखि १२ बजेको बिचमा भएको देखिन्छ । होटल सञ्चालक मोहनसिंह खत्रीको भनाईलाई आधार मान्ने हो भने होटल सञ्चालक चौथो तलामा र ग्राहकहरु दोस्रो तेस्रो तलामा रहेको अवस्थामा भूइँतलामा घटना भएको छ । होटलका मजदुरहरु भूइँतलामै सुत्ने गरेका थिए । घटना भएको सवा १० बजेदेखि १२ बजेसम्मको २ घण्टाको अवधिमा भूइँतलामा सामान्य होहल्ला भइरहेको माथिल्लो तलामा रहेका ग्राहक र होटल सञ्चालकले सुनेका थिए । तर, मदिरा खाएर चर्काे श्वरमा होहल्ला गरेको हुन सक्ने अनुमान लगाएर कसैले पनि भूइँतलातिर ध्यान नदिएको बताएका छन् । घटनामा धारिलो हतियारको प्रयोग गरेर हत्या भएकाले चर्काे होहल्ला भएको अनुमान लगाउन सकिन्छ । होटलको पछाडिको ढोकाको ताला तोडिएको भनिएकाले अपराधी बाहिरको मान्छे हुन सक्ने अनुमान समेत लगाउन थालिएको छ । घाइते पदमराज जोशीको नेपालगञ्जमा उपचार भइरहेको छ । प्रहरीले महेन्द्रनगरमा आफ्नो ढंगले छानविन गरिरहेको छ भने घाइतेको बयानको समेत प्रतिक्षा गरिएको छ ।

0 comments

Write Down Your Responses