‘मम’ र ‘सुकुटी’ खानेहरूका लागि यसरी आयो खुसीको खबर
काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ ।
महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
उपत्यकामा मासु खाने उद्देश्यले दैनिक सात सयभन्दा धेरै राँगा तथा भैँसी भित्रिने गरेका छन् । उपत्यकाभित्रका वधशाला सुधार हुन नसकेपछि महानगरपालिकाले राँगा–भैँसी भित्रिने प्रक्रिया नै बन्द गर्न लागेको हो ।
महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी भित्रिन निषेध हुने बताए ।उनले भने, ‘उपत्यकाभित्र राँगा–भैँसी ल्याउने प्रक्रिया निषेध गर्ने काम सुरु भएको छ । यसका लागि उपत्यकाभित्रका मासु व्यवसायीसँग पनि छलफल भएको छ । अबको तीन वर्षभित्र उपत्यकामा जिउँदो राँगा–भैँसी ल्याउन बन्द हुनेछ ।’
महानगरपालिकाका अनुसार उपत्यकामा जिउँदो राँगा–भैँसीको सट्टा मासु नै आयात हुनेछ ।
उपत्यकाबाहिरका वधशालाबाट उपत्यकामा ताजा मासु भित्रिनेछ । उपयुक्त तापक्रममा चिस्यान गरिएपछि उपत्यकामा मासु भित्रिनेछ ।
महाशाखा प्रमुख श्रेष्ठले भने, ‘जिउँदो राँगा–भैँसीको सट्टा ताजा मासु आउनेछ । आवश्यक तापक्रममा राखिएपछि मात्रै मासु उपत्यकामा आउनेछ । यसो हुँदा उपत्यकाभित्रका वधशाला स्वतः हट्नेछन् ।’
उपत्यकामा राँगा ७ सय वटा, खसीबोका १५ सय वटा, कुखुरा ७० टन, बंगुर १५० टन, माछा ७ टन र आयातित मासुको १० टन भित्रिन्छ ।
dainiknepal


0 comments
Write Down Your Responses