एमाले नेताले एमाओवादीलाई सोधे– सरकार फेर्ने निर्णय अकस्मात किन आयो ?

सत्तारुढ एमाले र एमाओवादीबीच बुधबार अबेर रातीसम्म छलफल भएको छ । स्थायी समितिको बैठक सिध्याएर बालुवाटार पुगेका एमाओवादी नेताहरुसँग एमाले नेताहरुले सरकारलाई समर्थन फिर्ता लिने निर्णयको कारणबारे सोधेका थिए । “एमाओवादीकै नेतृत्वमा वामपन्थीहरुको सरकार बनाउन सकिने सम्भावना हुँदाहुँदै हतारमा निर्णय गर्नुका पछाडि के कारण रहेको छ ?” एमाले नेताहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई सोधे । प्रचण्डले भने शान्ति प्रक्रियादेखि अन्य सरोकारका विषयमा एमाले नेतृत्वले जिम्मेवार भूमिका निर्वाह नगरेको अवस्थामा सरकारलाई समर्थन दिन नसकिने आशयको कुरा गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ अबेर भएको छलफलमा सत्ता साझेदार प्रमुख एमाओवादीले आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न समेत आग्रह गरेको थियो । सत्ता नेतृत्वकर्ता एमालेले भने वर्तमान गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखेको थियो । एमाले नेताहरुले सरकार फेर्ने उपयुक्त समय नभएको र हतारमा निर्णय नगर्न एमाओवादीलाई अनुरोध गरेका थिए । शान्ति प्रक्रियालगायतका मुद्दामा यही गठबन्धनलाई बलियो बनाएर समस्या समाधान गर्ने प्रतिबद्धता एमाले नेताहरुले व्यक्त गरे । भेटमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु तथा एमाओवादीकातर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताको सहभागिता थियो । दुबै दलबीच बिहिबार बिहान समेत वार्ता हुने भएको छ ।

0 comments

Write Down Your Responses