सरकार परिवर्तनको रहस्यबारे अमरेशकुमारले मुख खोले, यस्तो छ खास कुरो

काठमाडौं, २५ वैशाख । वर्तमान सरकार परिवर्तनका रहस्यबारे नेपाली कांग्रेसका सांसद एवं मधेसी नेता अमरेशकुमार सिंहले वास्तविक कुरा बाहिर ल्याएका छन् । नेकपा एमाले नेतृत्वको यो सरकार ढालेर एमाओवादीको नेतृत्वमा नयाँ सरकार बनाउन भुमिका खेलेका नेतामध्येका एक सिंहले सरकार परिवर्तनको प्रस्ताव एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाटै आएको खुलासा गरे । उनले भने– ‘नयाँ सरकार गठनको प्रस्ताव पहिलेदेखि नै प्रचण्डजीबाट आएको हो । यो प्रक्रिया २–३ दिनमा भएको होइन्, २ महिनाअघिदेखि सुरु भएको थियो । 

हामीलाई महाधिवेशनअघि नै उहाँले नयाँ सरकार बनाउँ भनेर प्रस्ताव गरेका थिए । त्यतिबेला हामीले महाधिवेशन अगाडि सम्भव छैन भन्यौ ।’ वर्तमान सरकार ढाल्ने प्रयासमा कांग्रेसको कुनै हात नरहेको भन्दै उनले भने- ‘कमजोरी माओवादीबाट भएको छ । यसमा कांग्रेसको कुनै भुमिका नै थिएन् । माओवादीले आग्रह गरेका कारण हामीले मानेको मात्रै हो ।
’ प्रचण्ड किन पछि हटे भन्ने प्रश्नमा सिंह भन्छन्- नयाँ सरकारको ड्राफ्ट तयार भइसकेको थियो । तर, बुधबार रातभरी प्रचण्डलाई चर्काे दबाब आयो । त्यो दबाब उहाँले समाना गर्न सक्नुभएन् ।’ उनले पश्चिमा राष्ट्र र उत्तरी छिमेकी चीनको दबाबले प्रचण्ड पछि हटेको संकेत गरे । उनले सरकार परिवर्तनको निर्णयबाट पछि हट्नु प्रचण्डको दुस्साहस भएको आरोप लगाए । ‘उहाँ त्यो अवस्थामा पुग्न हुँदैनथ्यो । राजनीति गर्ने पार्टीले सरकारको दाबी गर्नु स्वभाविक हो । यो उसको राजनीतिक धर्म हो । 
तर, एमाओवादी किन फर्कियो त्यो विस्तारै बाहिर आउने छ,’ उनले भने । अब नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने भन्दै सहकार्य एमाले र एमाओवादी दुबैसँग हुनसक्ने उनको भनाई छ । ‘संसदको सबैभन्दा ठूलो दल भएकाले देशको समग्र समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार कांग्रेसकै नेतृत्वमा बन्नुपर्छ । शेरबहादुर देउवाले त्यसको नेतृत्व गर्नुहुन्छ ।’ उनले वर्तमान सरकार परिवर्तनको खेलमा कांग्रेसको कुनै भुमिका नभएको भन्दै कांग्रेसलाई भारतसँग जोडेर कमेन्ट गरेकोमा आपत्ति जनाए । ‘प्रस्ताव ल्याउने एमाओवादी, हाम्रो पार्टीलाई दिल्लीसँग जोडेर भारतीय डिजाइन् भन्ने ?’ उनले प्रतिप्रश्न गर्दै भने– ‘राजनीति गर्ने दलले सरकारको दाबी गर्न पाउँछ । एमाओवादीले दाबी गर्यो हामीले साथ दिन्छौं भनेको मात्रै हो ।’

0 comments

Write Down Your Responses