यो डरलाग्दो मौसम हो, टाइफाइडबाट बच्न यसो गरौं ...!!

काठमाण्डु, २ जेठ – वर्षा र गर्मी बढेको छ, अस्पतालमा टाइफाइडका बिरामी पनि बढेका छन् । गर्मीमा खाना चाँडै बिग्रन्छ, पानी दूषित पनि हुन्छ । फोहोर पानी र बासी खानेकुराले टाइफाइड निम्तिन्छ । पानी र खाद्यवस्तुमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार गर्मी तथा वर्षाको समयमा टाइफाइडका ब्याक्टेरिया पानी तथा खानेकुरामा बढी सक्रिय हुन्छन् । सङ्क्रमणले गर्दा स्वास्थ्य संस्थामा टाइफाइडका बिरामी बढ्ने गर्छन् । उनले टाइफाइड सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिँगा र अन्य किरा–फट्याङ्ग्राको प्रकोप भएको ठाउँमा बढी देखिने भएकाले सफा पानी र स्वस्थ खानेकुरामा ध्यानदिनुपर्नेमा जोड दिए । टाइफाइड ब्याक्टेरियाबाट लाग्ने सक्रामक रोग हो । चिकित्सक टाइफाइडलाई एक संवेदनशील ज्वरो भएको बताउँछन् ।

 जुन स्याल्मोनेल्ला टाइफी र स्याल्मोनेल्ला प्याराटाइफी ब्याक्टेरियाका कारण हुने गर्दछ । पानी तथा खानेकुराबाट यी जीवाणु मानिसमा सर्छन् । यो रोग लागेपछि मानिसलाई तीव्र ज्वरो आउने गर्छ । टाइफाइड ज्वरो घट्ने वा बढ्ने त हुन सक्छ तर उपचार नगरिएसम्म निको नहुने चिकित्सकहरूको भनाइ छ । टाइफाइड जुनसुकै उमेरका व्यक्तिलाई हुने भए पनि विशेष गरी १० देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा बढी हुने गरेको पाइएको छ । एकपटक टाइफाइड भएपछि फेरि पनि भइरहने सम्भावना पनि उत्तिकै रहन्छ । चिकित्सकका अनुसार टाइफाइडका कीटाणु आन्द्राको माथिल्लो भागबाट रगतमा प्रवेश गरी रक्तसञ्चारमार्फत शरीरका अनेक भागमा पुग्छन् । स्याल्मोनेल्ला टाइफी ब्याक्टेरिया मानिसको दिसासँगै बाहिर निस्किन्छ ।

 यस्तो दिसामा बसेका झिँगाले खुट्टामा ब्याक्टेरिया टाँसेर ल्याउँछन् अनि खाद्य पदार्थ तथा पानीका स्रोत वा मानिसको सम्पर्कमा पु¥याइदिन्छन् । त्यस्ता खाद्य वा पेय पदार्थ सेवन गर्ने व्यक्तिमा सो रोगका ब्याक्टेरिया जान्छ र मानिसलाई टाइफाइडबाट संक्रमित बनाउँछ । त्यसकारण यो संक्रमणबाट बच्न सफा र संक्रमणमुक्त पानी तथा खाद्य पदार्थ खानुपर्छ ।

 जोखिमयुक्त खानपानको सेवन नगर्ने र टाइफाइडविरुद्धको खोप वा औषधि प्रयोग गर्ने गर्नाले यो रोगबाट बच्न सकिन्छ । तर डा पुन नेपालमा टाइफाइडविरुद्धको खोपलाई त्यति महत्व नदिएको बताउँछन् । उनी भन्छन्, ‘अन्य रोगका खोप नेपालमा महत्वका साथ दिने गरिएको छ । सरुवा रोगमध्येको सबैभन्दा बढी समस्याका रुपमा देखिएको टाइफाइडविरुद्धको खोपलाई भने सरकारले महत्व दिएको छैन ।’ टाइफाइड भएमा शरीर तथा टाउको दुख्नु, भोक नलाग्नु, ज्वरो आउनु, नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, पखाला लाग्नु, कब्जियत हुनु, ज्वरो बढ्ने घट्ने भइरहनु, शरीर काँप्नु र बिरामी बेहोस हुनेजस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिनासाथ तुरुन्त चिकित्सककहाँ उपचार गराई औषधिको सेवन गर्नुपर्छ ।

0 comments

Write Down Your Responses