‘लोग्नेमान्छे सन्तान जन्माउन मात्रै’
बलिउड अभिनेत्री प्रियंका चोपडाले जहाँजहाँ हात हालिन्, त्यहाँत्यहाँ प्राय: सफलता नै पाउँदै आएकी छन् । पहिलो हलिउड काम ‘क्वान्टिको’ मार्फत पिपुल्स च्वाइस अवार्ड पाएकी अभिनेत्रीले पछिल्लो चोटि भारतको चौथो सर्वोच्च सम्मान पद्मश्री प्राप्त गरेकी छन्, दशक लामो फिल्मी यात्रामा पुर्याएको योगदानका लागि । यति बेला उनले फेरि आफू चानचुने नरहेको प्रमाणित गर्न खोजेकी छन् । एउटा अन्तर्वार्तामा उनले सन्तान उत्पादनबाहेक अरू कामका लागि आफूलाई लोग्नेमान्छेको आवश्यकता नरहेको ठोकुवा गरेकी छन् । आफ्नो व्यक्तिगत जीवन र सम्बन्धहरूका बारेमा खुल्ने क्रममा उनले भनिन्, ‘मेरा लागि एउटा हीरा किन्न कुनै लोग्नेमान्छेको बाटो हेर्नुभन्दा म आफैँ धेरै हीरा किन्न मन पराउँछु । कुनै पनि सम्बन्धमा बाँधिएपछि त्यसबाट अलग हुने राम्रो बाटो हुन्न । या त तपाईं अर्को व्यक्तिबाट अपहेलित हुनुपर्छ या तपाईंले नै उसप्रति नमिठो व्यवहार गर्न थाल्नुहुन्छ । सम्बन्धमा बाँधिएपछि ससाना कुराप्रति अर्काको भर पर्नुपर्छ । त्यसबाट हटेर तपाईंले आफ्नाबारे सोच्न थाल्नुपर्छ ।’ यति भन्दाभन्दै पनि प्रियंकाले के चाहिँ छुटाइनन् भने, आफ्नै बालबच्चा हुन् भन्नेमा उनले रहर पालेकी छन् र उनको लायक कोहीसँग घरजम गर्न पनि चाहन्छिन् । ‘तर, म कसैको विश्वासघात सहन सक्दिनँ,’ उनले भनिन्, ‘मेरो पार्टनरले त्यस्तो गर्यो भने म उसप्रति हिंसक पनि हुन सक्छु । विवाहमा विश्वासघात स्वीकार्य हुनै सक्दैन । जसलाई मनमुटु सुम्पिएको हुन्छ, उसले पार्टनरलाई चिट गर्नु जस्तो नकाम केही हुन्न ।’ kantipur.ekantipur


0 comments
Write Down Your Responses