इतिहासकै भावनात्मक संकटको मोडमा ‘कमरेड किरण’, के होला बुधबारको बैठकमा ?
लामो समयदेखि आशंका र विवादबीच चर्चामा रहेको माओवादी घटकहरुबीचको एकता प्रसङ्गले बुधबार नयाँ मोड पाउने देखिएको छ ।
एकता गर्ने या नगर्ने विषयमा क्रान्तिकारी माओवादीभित्र देखिएको विवादले समेत बुधबार टुङ्गो पाउने छ । सम्भवतः बुधबारदेखि नै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण समेत आगामी बाटोको बारेमा समेत एउटा निश्कर्षमा पुग्ने छन् ।
बुधबार एमाओवादी अध्यक्ष प्रचण्ड, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष बादलबीच एकता प्रक्रियाका बारेमा निर्णायक वार्ता हुन गइरहेको छ । यो वार्ता सकारात्मकरुपमा टुंगिए यसले समग्र माओवादीभित्र एकताको उत्साह उत्पन्न हुने अवस्था देखिने छ भने वार्तामा सहमति नभए फूट, र माओवाद मान्नेहरुबीच नै दुई कित्तामा ध्रुवीकरणको प्रक्रिया अघि बढ्ने छ ।
गत साता कपिलबस्तुमा प्रचण्ड र वैद्यबीच एकताको विषयमा सामान्य अनौपचारिक छलफल भएको थियो । उक्त छलफलमा वैद्य दाङबाट फर्केपछि निर्णायक किसिमले छलफल गर्ने कुरामा दुबै नेता सहमत भए । यही निर्णायक छलफल भोली बुधबार हुन गइरहेको छ ।
एकताकै विषयमा विवाद भएपछि क्रान्तिकारी माओवादीको बैठक एक महिनाका लागि यसअघि नै स्थगित गरिएको थियो ।
युद्धकाल र शान्तिकालमा प्रचण्डले वैद्यभन्दा बाबुरामको बढी कुरा सुन्ने र आफ्नो उपेक्षा गर्ने गरेकोमा वैद्य व्यक्तिगतरुपमा आहत भएको उनले कतिपटक चर्चा गरेका छन् । अहिले एकताको सवालमा आफूले नै त्यसका लागि प्रचण्डसँग पहल गर्नुपर्नेमा बादलले अघि सरेर आफूलाई उपेक्षा गरेको उनको मनोविज्ञान देखिन्छ । ऐतिहासिक आवश्यकता र अनिवार्यता भन्दा पनि यहाँनिर उनीभित्रको भावनात्मक पक्षले बढी भूमिका निर्वाह गरेको देखिन्छ ।
के छ अहिलेको अवस्था ?
– एमाओवादी अध्यक्ष प्रचण्डले जसरी पनि एकता गर्नैपर्ने धारणा व्यक्त गरेका छन् । अहिलेको संविधानलाई प्रगतिशील भएको र समाजवादी क्रान्तिको आवश्यकता रहेको विश्लेषण गरेपनि प्रचण्डले नेपाली समाजको चरित्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, उत्पादन सम्बन्धमा देखिएको विकासलगायतका विषयमा घनीभूत छलफल चलाएर अधिकतम लचकताका साथ नयाँ कार्यदिशा निर्माण गर्न सकिने कुरामा प्रतिबद्धता जनाएका छन् ।
– प्रचण्डको तीन बुँदे प्रस्तावको स्पिरिट हेर्दा वर्तमान राजनीतिक, आर्थिक, सामाजिक परिस्थितिको सही माक्र्सवादी अन्वेषण र विश्लेषण गर्ने र संक्रमणकालिन कार्यदिशा या समाजवादी कार्यदिशामध्ये ऐतिहासिक आवश्यकताले माग गर्ने कार्यदिशा निर्माण गरेर सोही अुनरुप संघर्षलाई अघि बढाउन प्रचण्ड लचक भएको देखिन्छ ।
– क्रान्तिकारी माओवादीभित्र बादल समेत प्रचण्डको नजिक देखिन्छन् । बादलले प्रस्तुत गरेको एकताको प्रस्तावमा विचार संश्लेषण या रणनीतिक कार्यदिशाको विषयमा अझै छलफल गरेर टुंगोमा पुग्नुपर्ने तर ऐतिहासिक अनिवार्यता र आवश्यकताका आधारमा आधारभूत सैद्धान्तिक पक्षमा सहमति कायम गरेर एकता गर्नुपर्ने विचार रहेको छ । यसको अर्थ माक्र्सवाद, लेनिनवाद, माओवादको मूलभूत सिद्धान्त अन्तर्गत वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्तजस्ता केही विषयमा सहमति भए रणनैतिक कार्यदिशा एकता महाधिवेशनमार्फत हल गर्ने भन्नु हो ।
– क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले भने नयाँ जनवादी क्रान्तिका कार्यभार पुरा नभएको बताएका छन् । यद्यपी उनले पनि नेपाली समाज र अन्तर्राष्ट्रिय वित्तिय पूँजिवादको चरित्रमा देखिएको फेरबदल र परिस्थितिको विश्लेषण गर्दा पुरानै ढंगले नयाँ जनवादी क्रान्ति हुन नसक्ने भने बताउँछन् । शब्द या रुपमा उनले जे भने पनि उनी पनि रणनीतिक कार्यदिशाको हकमा अल्मलिएका छन् या स्पष्ट छैनन् । उनले पनि बस्तुसम्मत विश्लेषण गरेर नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने मत राख्छन् ।
– वैद्यका हकमा सबैभन्दा ठूलो समस्या भनेको भावनात्मक देखिएको छ । माओवादी आन्दोलनमा वैद्य निरन्तर क्रान्तिमा होमिएका व्यक्ति हुन । चौथो महाधिवेशनको फूट र त्यसपछि मशालमा देखिएको फूटदेखि एकता केन्द्रको निर्माण र फेरी माओवादी पार्टीको जन्मसम्म र जनयुद्धको शुरुआतदेखि शान्ति प्रक्रियासम्म उनले क्रान्तिकारी माक्र्सवादको पक्षमा आफूलाई समर्पित गर्दै आए । त्यो अर्थमा वैद्यका लागि क्रान्तिको प्रश्न बढी भावनात्मक बन्ने गरेको देखिन्छ । यही भावनात्मक जगमा नै त्यतिखेर आफ्ना सबैभन्दा वैचारिकरुपमा निकट रहेका प्रचण्डसँग उनले सम्बन्ध विच्छेद गरे । अहिले एकताका सवालमा यो भावनात्मक प्रश्न नै उनका लागि जटिल बनेको छ ।
– वैद्यले रणनीतिक कार्यदिशाको प्रश्न पहिला नै हल गर्ने र अनि मात्रै एमाओवादीसँग एकता गर्ने अडान राखेका छन् । बादलले न्यूनतम आधारमा एकता गरौं र त्यही आधारको आलोकमा विश्लेषण गरेर कार्यदिशा निर्माण गरौं भनेका छन् । दुबै नेताको स्पिरिट उही रहेपनि प्रक्रियागतरुपमा दुबै फरक दिशामा छन् । यो अवस्थामा बादलले प्रचण्डसँग निरन्तर छलफल जारी राखेपछि वैद्यको मनोविज्ञानमा थप आशंका उत्पन्न भएको देखिन्छ ।
– युद्धकाल र शान्तिकालमा प्रचण्डले वैद्यभन्दा बाबुरामको बढी कुरा सुन्ने र आफ्नो उपेक्षा गर्ने गरेकोमा वैद्य व्यक्तिगतरुपमा आहत भएको उनले कतिपटक चर्चा गरेका छन् । अहिले एकताको सवालमा आफूले नै त्यसका लागि प्रचण्डसँग पहल गर्नुपर्नेमा बादलले अघि सरेर आफूलाई उपेक्षा गरेको उनको मनोविज्ञान देखिन्छ । ऐतिहासिक आवश्यकता र अनिवार्यता भन्दा पनि यहाँनिर उनीभित्रको भावनात्मक पक्षले बढी भूमिका निर्वाह गरेको देखिन्छ ।
– वैद्यको यो भावनात्मक पक्षलाई उनको निष्ठा र क्रान्तिकारी इतिहाससँग जोडेर एकता गर्न नचाहने तत्वहरुले उकास्नसक्ने सम्भावना बलियो देखिन्छ । प्रचण्ड भनेको यस्तै हो, अरुलाई खेलाउने, उचाल्ने, प्रयोग गर्ने र आफू भने सधैं केन्द्रमा नै बसिराख्ने भन्ने तर्क गर्दै वैद्यलाई भावनात्मकरुपमा थप उद्देलित गर्ने काम यतिखेर भएको देखिन्छ ।
–यो भावनात्मक संकटलाई प्रचण्डले कत्तिको बुझ्छन र त्यही अनुरुप एकताको स्पिरिटलाई वैद्यसमेत समेटेर अगाडि बढ्न सक्छन् भन्ने कुरा अहिले मुख्य रहेको छ । प्रचण्डका लागि समेत सबै क्रान्तिकारी माओवादीका नेता एमाओवादी आएपनि वैद्य नआउँदा एकता अधुरो नै हुने देखिन्छ । यो कुरा स्व्यम् प्रचण्डले समेत अनुभूति गरेका छन् ।
के होला बुधबारको बैठकमा ?
बुधबारको बैठकमा वैद्य, बादल र प्रचण्डबीच एकताका कतिपय पक्षमा छलफल हुने सम्भावना छ । यद्यपी बादल निकट रहेकाहरु भने अब वैद्य बिना नै एकता हुन्छ भन्न थालेका छन् । तर अहिले पनि वैद्यसहितकै एकताको सम्भावना नभएको होइन ।
बुधबारको बैठकमा प्रचण्डले आफूलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुरा मुख्य हो । अझै पनि वैद्य एकताको प्रक्रियामा आउने सम्भावना छ ।
यसका लागि बुधबारको बैठकमा प्रचण्डले निम्न कुरामा प्रतिबद्धता जनाउन सके भनेः
– संविधानलाई हेर्ने दृष्टिकोणका बारेमा पूर्वाग्रहरहित भएर छलफल गरेर निश्कर्षमा पुगौं
– कार्यदिशाको विषयमा एउटा समिति बनाएर अहिलेको परिस्थितिको समग्र र बिहंगम, सूक्ष्म माक्र्सवादी विश्लेषणमार्फत विचार संश्लेषणको प्रक्रिया अघि सारौं र एकता महाधिवेशनमा निर्णायर्थ लगौं
– पार्टी नेतृत्वका सवालमा कमरेड किरणले नेतृत्व लिन चाहनुहुन्छ भने म त्यही अनुसार गर्न तयार छु
– इतिहासको समिक्षाका हकमा समेत कार्यदिशा निर्धारण गर्ने प्रक्रियाजस्तै विश्लेषण र समीक्षा गरौं
–तत्काल एकता संयोजन समिति बनाएर सैद्धान्तिक र संगठनात्मक कार्य अगाडि बढाऔं र घनीभूतरुपमा साँच्चिकै बलियो माओवादी संगठन बनाएर जाऔं
–कार्यनीतिकरुपमा तत्काल जनतन्त्र, जनजीविका र राष्ट्रियताका सवालमा नीति या दिशा या संघर्षको स्वरुप तयार गरौं र सोही अनुरुप अघि बढौं ।
यी कुराहरुमा प्रचण्डले हदैसम्मको लचकता देखाउन सकेभने वैद्यका अगाडि या त बस्तुसम्मत बन्ने र एकताको प्रक्रियामा अघि बढ्ने या अधिूतवादी भएर पछाडि फर्किने मध्ये एक विकल्प रोज्ने बाध्यता हुने छ ।
दुईवटा नयाँ ध्रुवीकरण ?
बुधबारको बैठक निर्णायक हुन सके यसले एकताको पर्खाईमा रहेका सबै माओवादीहरुमा सकारात्मक सन्देश जाने देखिन्छ ।
यदि बैठक निर्णायक भएन भने माओवादीभित्रै दुईवटा नयाँ ध्रुवीकरण हुने छ ।
१. बादलहरुको बहुमत भएको अवस्थामा उनीहरुले एकताको प्रस्ताव केन्द्रीय समितिबाट पारित गर्नेछन् । त्यो अवस्थामा वैद्यहरुले त्यो निर्णय मान्ने या विद्रोह गर्ने एउटा विकल्प रोज्ने छन् । या उनीहरुमाथि बहुमतले कार्वाह ीगर्ने छ । बादल नेतृत्वका क्रान्तिकारी माओवादी र एमाओवादीबीच एकता हुने छ ।
२. अर्कोतर्फ कारबाहीमा परिसकेको अवस्थामा वैद्यहरुसँग विप्लव, हेमन्त ओलीलगायतले एकताको प्रस्ताव अघि सार्नेछन् । यद्यपी विप्लवले वैद्य भन्दा पनि एमाओवादीसँग एकता नचाहने अन्य नेता कार्यकर्तालाई समेट्न खोज्नेछन् । यो अर्को ध्रुवीकरण भएपछि वैद्य भने न यता, न उताको अवस्थामा पुग्ने परिस्थितिले देखाएको छ । किनभने वैद्य र विप्लवको एकता हुने नै भयो भने पनि वैद्यले आफ्नो प्राधिकार भूमिका त्यागेर वैद्यलाई नेतृत्व दिने सम्भावना कम नै छ ।
जे होस्, अहिले वैद्य इतिहासकै एउटा कठीन, भावनात्मक र निर्णायक मोडमा छन् । उनले बुधबारको बैठकमा गर्ने निर्णय बस्तुसम्मत भयो भने यो समग्र माओवादीका लागि राम्रो हुन्छ, वैद्यका लागि समेत ।


0 comments
Write Down Your Responses